लैंगिक समानताका लागि समान सोच र व्यवहार
March 16, 2019 मा प्रकाशित

–हीरा कुवँर, गुल्मी ।
जिन्दगीमा पहिलो पटक आमा बन्दाको अनुभव लिदै थिए । प्रवास मेडिकल कलेजको १२ नम्बर क्याबिनमा नवजात शिशुलाई काखमा राखी दुध चुसाँउदै थिएँ म । साथमा श्रीमान् हिरा ए.सी. अनि बहिनी कला । २०७१ साल असार २५ गते दिउँसो २ः३० बजे पहिलोपटक बच्चालाई यस सुन्दर धर्तीमा पाइला टेकाउन पाउँदा प्रफुल्ल मनले प्रसवपीडाको अनुभवलाई कम गर्दै थियो ।

अपरेसनबाट बच्चा जन्मिएको हुनाले एकहप्ता अस्पतालमै बस्नुपर्यो । त्यसबीचमा मोबाइलमा सयौं घण्टीहरु बज्थे आफन्त र साथीभाइका । हिराजीको र मेरा चिनजानका व्यक्तिहरु करीब एउटै भएको हुनाले पनि दुवैका फोनहरु उहाँकै मोबाइलमा आउँथे ।

एकजना सामाजिक अगुवा र वरिष्ठ व्यक्तित्व काम विशेषले अस्पतालमा जानुभएको रहेछ । हाम्रो खबर थाहा पाएपछि बधाईका लागि हामी बसेको क्याबिनमा जानुभो र दुवैजनालाई बधाई छ भन्नुभयो । छोरा वा छोरी भनेर सोधेर छोरा भन्ने थाहा पाएपछि हिराजीसंग दोस्रो्रपटक जोसिलो पारामा फेरी हात मिलाउँदै भन्नुभयो लौ त्यसोभए फेरी पनि बधाई छ, भोज खानुपर्यो ।

अस्पतालको बेडमा सुतिरहेकी आमाको मन भने चसक्क भो । समाज परिवर्तन र समानताका लागि लडिरहेको एक परिपक्व राजनीतिज्ञमा पनि छोरा र छोरीबीचको विभेदको मानसिकता कति बलियो गरी बसेको रहेछ । मनले आफैंसंग प्रश्न सोधिरह्यो बेजोडसंग ।

सायद छोरी जन्मिएको भए त्यो दोस्रोपटकको बधाई र भोजको अनुरोध आउँथ्यो वा आउँथेन त्यो मलाई थाहा भएन । मनको कुरा मनमै रह्यो, प्रश्न अनुत्तरित नै रह्यो। हामीले हाम्रो दैनिकीमा यी र यस्ता कैयौं व्यवहारहरु गरिरहन्छौं, जुन व्यवहार नियतबश नभएर सदियौंदेखि विकास भएको पितृसत्तात्मक सोचको कारण भइरहेका हुन्छन् ।

पितृसतात्मक सोच केवल पुरुषमा मात्र होइन, महिलामा पनि छ । छोरा र छोरीमा अभिभावकले गर्ने फरक व्यवहार, अवसरमा भिन्नता, घरायसी कामको जिम्मेवारीमा फरकपन यिनै स साना कुरामा हाम्रो सोच र ब्यवहार केन्द्रित छन् ।

भर्खरमात्रै १०९ औं अन्तराष्ट्रिय महिला दिवस “समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ देशभर मनाइएको छ । यस दिवसको नाराले पनि दिन खोजेको सन्देश यही हो । हाम्रो सोच अनि दैनिक रुपमा छोरा र छोरीबीच गरिने व्यवहार समान हुन जरुरी छ । जसले समाजको समृद्धिको आधार तयार पर्दछ ।

नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ ।

१) प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ ।

२) महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ ।

३) महिला विरुद्ध धार्मिक, सामाजिक ,सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनौवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

४) राज्यका सबै निकायमा महिलालाई समान्पातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।

५) महिलालाई शिक्षा,स्वास्थ्य, रोजगारी र सामाजिक सुधारमा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।

६) सम्पत्ति तथा पारीवारिक मामिलामा दम्पत्तिको समान हक हुनेछ भन्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख छ । अब सोचौं यति सुन्दर व्यवस्था संविधानले हामीलाई दिएको छ ।

साँच्चिकै व्यवहारिक कार्यान्वयन भएमा अब महिलाअधिकारको लागि छुट्टै वकालत गर्दै हिंड्न जरुरी छैन । यसबाहेक नेपालमा महिलाको पक्षमा बनेका अन्य थुप्रै कानुन, नीति, ऐनहरु छन् , जसले महिला र पुरुषको समान हैसियत कायम गर्नका लागि कानुनी आधार प्रदान गरेका छन् ।

तसर्थ कानुनी रुपमा नेपाली महिलाहरुका लागि प्रशस्त व्यवस्थाहरु छन् । मुलुकी ऐन २०७४ ले पनि महिलाअधिकारको पक्षमा थुप्रै व्यवस्था गरेको छ । यद्यपि कार्यान्वयन भने अलिक कमजोर देखिन्छ । तसर्थ अबको पालो व्यवहार अनि सोचमा समानताको हो ।

अहिले पनि नेपालका सुदुरपश्चिमी क्षेत्रमा छाउपडी प्रथाबाट महिलाहरु पीडित छन् । दाइजो प्रथाबाट महिलाहरु हिंसामा परिरहेका छन् । नेपाली समाजमा भएमा यस्ता थुप्रै कुसंस्कार कुरीती विरुद्धमा समुदायमा सचेतनाको माध्यमबाट सोचमा परिवर्तन ल्याउन जरुरी छ ।

लामो समयदेखि अँगाल्दै आइएका विभेदकारी चालचलन र प्रथाहरुको अन्त्यका लागि आम नागरिकले आफ्नो तर्फबाट वकालत र पैरवी गर्नु जरुरी छ । हामीले छोरा र छोरीलाई दिने शिक्षा दिक्षा र अवसरमा समानता हुनुप¥यो ।

हामी अभिभावकले छोरालाई सकी नसकी महंगो स्कुल कलेजमा पढाउने तर छोरीलाई त्यो भन्दा सामान्य लगानीमा पढाउने अभ्यास नै गलत छ । साथै घरको कामको बोझ पनि छोराछोरीमा समान रुपमा दिन जरुरी छ ।

यद्यपि सबै अभिभावकमा यस्तो नहोला तर औसतमा यस्तै देखिन्छ । यस्ता अभ्यासहरुमा हामी महिला पुरुष दुवै जिम्मेवार छौं, किनकि हामी दुवै पितृसत्तात्मक सोचबाट ग्रसित छौं ।

दिनभर सडकमा चर्का महिलाअधिकारका भाषण गर्दै हिंड्ने तर गर्भमा छोरी भएमा गर्भपतन गराउन अवैधानिक मेडिकल चहार्दै हिंड्ने बानी जहिलेसम्म हट्दैन, त्यहिलेसम्म समानताका नारा केवल नारामा सिमित हुन्छन् ।

निर्दोष छोरीहरुको जन्मनै नपाउँदै गर्भमै हत्या भइरहेको हुन्छ । जुन गम्भीर विषय हो । यसरी लैंगिक समानताका लागि एकातिर छोरा र छारीबीचको हाम्रो सोच र व्यवहार परीवर्तन हुन जरुरी छ ।

अर्को्तिर कानुनी तथा संवैधानिक रुपमा महिलाको पक्षमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । तबमात्र “समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार” ले सार्थकता पाउन सक्दछ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार