सार्वजनिक सुनुवाईमार्फत गुनासो सुन्दै गुल्मीका स्थानीय तह
March 12, 2019 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी फागुन २८ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकको वडा कार्यालयको परिसर । करिब डेढ सय जना नागरिक कुर्सिमा भरिभराउ छन् । नागरिकको अगाडी मञ्च ।
मञ्चमा वडाध्यक्ष मान बहादुर कुँवर, गाउँपालिकाका लेखापाल शिवहरी खनाल, जिन्सि शाखा प्रमुख गोविन्द खनाल, वडा सदस्यहरु टंक पोखरेल र बिमला घिमिरे छन् । त्यस्तै गाउँपालिकाका भूकम्प शाखाका प्रमुख चन्दन केशरी, विभिन्न बिषयगत शाखाका प्रमुख लगायतका व्यक्ति पनि उत्तर दिन तयारी अवस्थामा छन् । सबैजसो औपचारिक कार्यक्रममा टिका र माला लगाउने जनप्रतिनिधी र कर्मचारीले यसपटक भने केहि लगाएनन् । यो कार्यक्रम हो, जनताको गुनासो सुन्ने कार्यक्रम सार्वजनिक सुनुवाईको । संचालकले सार्वजनिक सुनुवाईको आचार संहिता बताउछन् ।

अनि खुल्ला छलफल सुरु भएको भन्दै आफ्ना केहि गुनासा, जिज्ञासा, प्रश्न तथा सुझाव भए राख्न सहभागिलाई अनुरोध गर्छन । त्यसपछि स्थानीय ढालेन्द्र नेपालीले विकासको बजेट अनुत्पादनशिल क्षेत्रमा खर्च भएको गुनासो पोखे । ‘धेरै बजेट बाटोमा लगाइयो, यो अनुत्पादनशिल क्षेत्रमा खर्च भयो ।’ उनले भने, ‘विकासलाई उत्पादनसँग जोड्न सक्नुप¥र्यो ।’ त्यसका साथै उनले खानेपानी सर्वसुलभ नभएको, निर्वाचनका बाचा पुरा नगरेको जस्ता गुनासा गरे । ‘निर्वाचनका बेला एक घर एक धारा भन्नुहुन्थ्यो, तर अझै पनि पानी लिन पधँरोमै धाउनुपर्छ ।’ उनले भने, ‘चुनावी बाचा हराएर गए जस्तो लाग्यो ।’ अर्का स्थानीय झविन्द्र पोख्रेलले पाञ्चायन माविमा भईरहेको निर्माणको काम सन्तोषजनक नभएको बताए ।

स्थानीय निर्माण सामाग्री सस्तोमा पाउँदापाउदँ पनि महङ्गोमा खरिद गरेको उनले आरोप लगाए । स्थानीय खड्ग बहादुर नेपालीले आफ्नो गाउँसम्म जान मोटरबाटोको सुविधा नभएको भन्दै कोहि बिरामी परेपनि धेरै समस्या हुने गरेको बताए । त्यसका साथै उनले जतिसक्दो छिटो मोटरबाटो पु¥याईदिन वडासमक्ष आग्रह गरे । स्थानीय कुमारी पाख्रेलले भूकम्पपछि पहिलो र दोस्रो किस्ता पाएपनि तेस्रो किस्ता नपाएको गुनासो गरिन् । ‘घर बनाउदा तीन लाखले त पुग्दै पुगेन ।’ उनले भनिन्, ‘पहिलो र दोस्रो किस्ताको रकम बुझियो, तर तेस्रो किस्ता पाउन अझै सकिएन ।’ पहिलो र दोस्रो किस्ता पाएपछि तेस्रो किस्ता आउने बेलासम्म ऋणले डुब्ने डर रहेको उनले गुनासो गरिन् । उठेको प्रश्न तथा जिज्ञासाहरुको वडाध्यक्ष कुँवर, भूकम्प शाखाका इन्जिनियर केशरी लगायतले जवाफ दिएका थिए । अध्यक्ष कुँवरले सुरुमै आफूहरुले निर्वाचनका बेला गरेका बाचाहरु पुरा गरेरै छाड्ने दाबी गरे ।

निर्वाचनमा बेला गरेकै प्रतिवद्धताअनुसार अहिलेसम्म जैसिथोकमा कुल २२० घरमा ‘एक घर–एक धारा’ पुगेको उनले जानकारी गराए । बाँकि घरको लागि पनि काम भईरहेको र आफ्नो कार्यकालमा पानी पु¥र्याएरै छाड्ने प्रतिवद्धता जनाए । गाउँपालिकाले खरका छाना विस्थापन गरी जस्तापाताले छाउने अभियान सुरु गरेको पनि उनले जानकारी दिए । अहिलेसम्म वडामा कुल कुल ३६ जनाले जस्ता पाईसकेको र अझै १० जनाले जस्ता पाउन बाँकि रहेको उनले बताए । ‘निर्वाचनका बेला दिएका आश्वासन बिर्सेका छैनौ ।’ उनले भने, ‘हाम्रो कार्यकालअवधिभर सबै वडाबासिका आधारभुत आवश्यकता पुरा गर्नेछौ ।’ भूकम्प शाखाका प्रमुख केशरीले केहि कागजी प्रक्रिया तथा मापदण्डविपरित घर बनेकोले तेस्रो किस्ता नआएको प्रष्ट पारे । उपस्थित अन्य नागरिकले जनप्रतिनिधीलाई जनताप्रति जवाफदेहि हुन, विकासका काम तथा प्रशासनिक काम चुस्त दुरुस्त राख्ने जस्ता सुझाव वडा कार्यालयलाई दिएका छन् ।

जनप्रतिनिधीहरुले सार्वजनिक सुनुवाईमार्फत जनताको गुनासो सुन्न थालेका छन् । जनताका सुझावका आधारमा आगामी योजना बनाउन तथा जनताको वास्तविक स्थिति बुझ्न सार्वजनिक सुनुवाई गरिएको हो । धुर्कोट गाउँपालिकाले वडा नम्बर ५ वस्तुबाहेक अरु सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रमको लागि बजेट छुट्याएको छ । जसअनुसार वडा नम्बर २ पिपलधारा, ४ जैसिथोक र ६ रजस्थलमा पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भइसकेको छ । भने अन्य वडामा छिट्टै गर्ने तयारी भइरहेको सम्बन्धित वडाले जनाएका छन् ।

बर्षमा तीन पटक गर्नुपर्ने सार्वजनिक सुनुवाई गत बर्ष भने सबैजसो स्थानीय तहले एकपटक मात्र गरेका थिए । तर यो बर्ष अधिकाशं स्थानीय तहले तीनपटक नै गर्ने तयारी गरेका छन् । इस्मा गाँउपालिकाले पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न ग¥र्यो । पहिलो चौमासिकको अमरपुर र दोस्रो चौमासिकको वडा नम्बर १ हस्तिचौरमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । ‘गत बर्ष अभ्यासमा थियौँ, अहिले केहि अनुभव भएको छ ।’ उनले भनिन्, ‘सार्वजनिक सुनुवाईमा आएका गुनासालाई आधार मान्दै आगामी योजना बनाउछौँ ।’ मदाने गाउँपालिका र रेसुङ्गा नगरपालिकाले पनि पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरिसकेको र अब छिट्टै दोस्रो चौमासिकको सुनुवाई गर्ने तयारी गरेको छ ।

मालिका गाउँपालिकाले पनि एउटा सुनुवाई सम्पन्न गरेको छ । मुसिकोट नगरपालिकाले पहिलो चौमासिकको सुनुवाई गरेको तथा दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई चैत १० भित्र गर्ने प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहहरुले पनि छिट्टै सार्वजनिक सुनुवाई गर्ने तयारी गरेका छन् । गुल्मीदरबार, सत्यवती, चन्द्रकोट लगायतका स्थानीयले चैतभित्रै सार्वजनिक सुनुवाई गर्ने योजना बनाएका छन् । गत बर्ष अन्य काममा अल्झियौँ, अहिले पनि कर्मचारी अभाव लगायतका समस्या छन् । चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद भण्डारीले भने, ‘गाउँसभापछि सुनुवाई गर्ने योजना बनाएका छौ ।

अहिले गुल्मीका स्थानीय तहहरुले गरिरहेको सार्वजनिक सुनुवाई राम्रो अभ्यास भएको रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद पोखरेलले बताए । ‘सुनुवाईमार्फत गुनासो सुन्नु राम्रो अभ्यास हो ।’ लामो समयसम्म तत्कालिन जिल्ला विकास समितिमा कार्यरत समेत रहेका पोख्रेलले भने, ‘यस कार्यले जनप्रतिनिधी जनताप्रति उत्तरदायी छन् भन्ने जनाउछ ।’

नेपाल नागरिक समाज गुल्मीका अध्यक्ष गुणनिधी शर्माले सुशासन र पादरर्शीताका लागि सार्वजनिक सुनुवाई अनिवार्य रहेको बताए । ‘यो अनिवार्य हो, स्थानीय तहले गरेको अभ्यास सकारात्मक छ ।’ उनले भने, ‘तर यसमा सचेत वर्ग मात्रै नभएर सबै तह र तप्काका नागरिकको पनि सहभागिता हुनु आवश्यक छ ।’

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार