सुआहारा गुल्मीको प्रगति समिक्षा, स्थानीय तहका उपप्रमुख सुआहाराको फोकल पर्सन
January 11, 2019 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी पुष २७।
सुआहारा गुल्मीको जिल्ला स्तरिय परियोजना सल्लाहकार समितको बैठक तथा प्रगती समिक्षा सम्पन्न भएको छ । बैठकमा एकिकृत पोषण कार्यक्रमको परिचय, पोषणको राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्था, परियोजनाको दोस्रो बर्षको कार्यप्रगती, समस्या र चुनौति, आगामी योजनाका बारेमा छलफल गरिएको थियो ।

सोहि अवसरमा सुआहारा पाल्पा संयोजक कृष्ण गुरुङ्गले गुल्मी जिल्लाको घरधुरी सर्वेक्षणको परिणाम सार्वजनिक गरेका थिए ।

परियोजनाको प्रगति समिक्षा

एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले परियोजनाले दोस्रो बर्षमा गरेका मुख्य उपलब्धिको बारेमा बैठकमा जानकारी गराएका थिए । परियोजनाले सामुदायिक नक्सांकन मार्फत ५२ हजार एक सय ६४ घरधुरीमा पुगी तथ्यांक संकलन तथा सामान्य परामर्श गरेको, हजार दिन भित्रका महिला तथा आमाहरुलाई पोषण, स्वास्थ्य र सरसफाई सम्वन्धि परामर्श गरेको छ ।

रेसुङ्गा नगरपालिकाको वडा न ६ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणाको चरणमा पुराएको, मुख्य १० पोषण तथा स्वास्थ्य ब्यवहारहरु बारे ५० जना सहयोगी सहजकर्ताले अन्तर ब्यतिm सञ्चार तथा सीप विकास तालिम लिएको निर्देशक विश्वकर्माले बताए ।

झण्डै तीन हजार कुखुरा वितरण

परियोजनाले स्थानिय तहमा एकीकृत पोषणसम्बन्धी अभिमुखिकरण तथा पोषण एबं खाद्य सुरक्षा निर्देशक समिति गठन गरिएको, ४२ जना ग्रामीण नमुना कृषकलाई कृषी सामग्रीहरु र एक सय ५० कृषकहरुलाइ फलफुलको विरुबा वितरण गरिएको जनाएको छ । साथै दुई हजार पाँच सय ९६ हजार दिनका आमाहरु र दुई सय २३ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आठ हप्ताका कुखूराका चल्ला वितरण गरिएको निर्देशक विश्वकर्माले बताए ।

कुपोषित बच्चाहरुलाई सहयोग

परियोजनाले आठ जना कडा र ५६ जना मध्यम खालका कुपोषित वच्चाहरु फेला पारेको छ । फेला परेका बच्चाहरुलाई नजिकको स्वास्थ्य संस्था र पुर्नस्थापना केन्द्र सम्म पुराउन सहयोग गर्दै आएको परियोजनाका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले बताए । त्यस्तै सुनौला हजार दिनका विपन्न घरधुरीका आठ सय १७ जना आमाहरुलाई कुखुरा खोर निर्माणका लागि आर्थिक सहयोग, जिल्लाका छ सय ७० स्थानमा पोषिलो खाना प्रदर्शनी साविकाका १७ वडाका महिला, सिलाई कटाई व्यावसायी, महिला स्वयसेविका र किशोरीहरुलाई सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिएको संयोजक विश्वकर्माले बताए ।

बैठकका महत्वपूर्ण निर्णयहरु

परियोजनाको शुक्रबार बसेको बैठकले सवै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई सुअहाराको फोकल पर्सन तथा परियोजनाको जिल्ला सल्लाहकार समितिमा सदस्य वनाउने निर्णय गरेको छ ।

त्यस्तै उमेर पुगेका, स्वाथ्यको कारण गाउँ छोडेका र तोकिएको जिम्मेवारी क्षेत्र भन्दा वाहिर वस्ने स्वास्थ्य स्वंयसेविकाहरुलाई विदा गर्ने र नयाँ स्वंयसेविका छनौट गर्ने प्रक्रिया अगाडी वढाउने निर्णय भएको एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा अर्यालले जानकारी दिए ।

स्वास्थ्य आमा समुहहरुलाई जिल्लाव्यापी पुर्नगठन अभियान संचालन गर्ने, घरधुरी सर्वेक्षणवाट प्राप्त जानकारी, कार्यक्रमको प्रगति विवरण सम्वन्धित स्थानीय तहमा उपलब्ध गराउने र कार्यक्रमको अनुगमनलाई प्रभावकारी वनाउने निर्णय भएको अर्यालले बताए ।

जिल्ला स्तरिय परियोजना सल्लाहकार समितिका अध्यक्ष लक्ष्मण पराजुलीको अध्यक्षता रहेको बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सुआहाराको स्थानीय तहमा रहेको भुमिका र अवको अवस्थाको बारेमा जिज्ञासा तथा प्रतिक्रिया राखेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार