श्रमको मुल्य नपाउँदा नौमति बाजा संकटमा
December 31, 2018 मा प्रकाशित

टोपलाल अर्याल,गुल्मी पुष १६ ।
इस्मा गाउँपालिका ४ को कुखुरीका च्यान । धेरै दलित समुदाय भएको बस्ती । पहिले गाउँमा आवश्यक परे दुई/तीन समुह र बाजा पुग्थे । अहिले धेरै परिवारमा आफ्ना बाजा छैनन् ।

मुसिकोट नगरपालिका २ कोटफेराका ६८ बर्षिय राम बहादुर परियारले नौमती बाजा बजाउन थालेको ५८ वर्ष भए । उनी बिशेषगरी सनाई बादक हुन् । १० बर्षदेखि बाजा बजाउन थालेका राम बहादुर अहिले पनि नजिक खवर गरे पुग्छन् । दुई दिन बजाएर मुस्किलले एक हजार पाउँछन् । ५८ बर्षसम्म पनि श्रमको मुल्य नपाएकोमा उनलाई दुख लाग्छ । ‘बाजा बजाएको कुनै मुल्य छैन, त्यसैले बँच्न गाह्रो छ,’उनले भने, खै कसरी पेशा धान्ने हो ।’

एक ठाउँमा पुगेको २० हजारसम्म

मुसिकोट नगरपालिका १ पौदीका कासीराम परियारले बाजाको कमाइबाटै अहिलेसम्म घरपरिवारको खर्च धान्दै आएका छन । उनलाई आफ्नो सबैभन्दा लामो उमेर नै बाजा बजाएर बिताएकाले अहिले पनि बाजा बजाउन छाड्ने मन छैन । उनले उमेर र शरीरले साथ दिएसम्म बजाउने रहर भएपनि बजाएको मुल्य बजार सुहाँउदो नभएका कारण बाँच्न मुस्किल पर्ने गरेको बताए । गाउँमा कम्तीमा ११ जनाको समुहले नौमति बाजा बजाउँछन् । उनीहरुले बाजा बजाए वापत १० देखि २० हजार बुझ्छन् । ‘गाउँमा तोकिएको रेट छैन कसैले राम्रै पनि गर्छन, कहिलेकाहीँ थोरैमा पनि बजाउनुपर्ने बाध्यता पर्छ,’ उनले भने मुल्य नभएकाले दुवै पक्षलाई समस्या परेको छ ।’ जिल्लाका धेरै बाजा समुहहरुले पैसा र पेशाकै चिन्ता व्यक्त गर्छन् ।

मुखको मुल्यमा बजाउनुपर्ने बाध्यता

चण्डीस्थान बाजा समुह चन्द्रकोटका युवा कृष्ण परियारले यो पेशा मुल्यका कारण व्यावसायीक बन्न नसकेको बताए । उनले सिकाई कटाई गर्ने र गाह्रो लगाउनेको समेत रेट हुँदा आफुहरुले मुखको मुल्यमा बाजा बजाउनु परेको बताए । ‘यो पेशामा मुल्य र सम्मान नभएकाले युवा आकर्षण छैन,’उनले भने,‘त्यसैले पाको पुस्तालेनै नौमति बाजा जोगाउनुपर्ने बाध्यता छ ।’ उनले गाउँमा पुजा गर्ने ब्राहमण र आफुहरुको समस्या उस्तै रहेको बताए ।

मेला महोत्सवमा मान्छे गुहार्नु पर्ने अवस्था

इस्मा गाउँपालिका ५ का सुमन्त परियारलाई मेला महोत्सवमा बाजा बजाउने मान्छे खोज्दा सास्ती हुने गरेको छ । गाउँमा बाजा बजाउने धेरै छैनन् । बजाउनेको पुस्ता पनि उमेर ढल्किएकाले धेरै टाढा पुग्न सक्दैनन् । ‘गाउँमा एकै दिन मेला महोत्सव र पर्व परे बजाउने खोज्न अर्को गाउँ पुग्छु,’उनले भने,‘अहिलेका युवाहरु बाजा बजाउनभन्दा बिदेश पस्न खुसी मान्छन् ।‘ आवश्यक परेको बेला सनाई बजाउन आफु तीन गाउँपालिका चहार्ने इश्मा गाउँपालिका ४ का लक्ष्मण परियारले बताए । ‘कहिलेकाहि मान्छे नपुगेर समस्या हुन्छ,’म पनि धेरै ठाउँ पुग्ने र अरुलाई पाि आवश्यक परे बोलाउँछु,’ उनले भने,‘ मेरो उमेरका बिरलै छन् ।’

पञ्जेबाजा संरक्षणको थालनी

जिल्लामा पञ्चे बाजा संरक्षणमा खासै उल्लेखनीय काम भएका छैनन् । तर काम नै नभएका भने हैन् । केहि समय अगाडी एकिकृत ग्रामिण विकास समाजले तत्कालिन युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा घमिर, अर्जे र छापहिलेमा बाजा मर्मत र पोशाक वितरण गरेको थियो । भने गत बर्ष पर्यटन तथा सस्कृति मन्त्रालय अन्तरगत जिल्लाका १७ स्थानका दलित समुदायलाई नयाँ बाजा खरिद र मर्मतको लागि आर्थिक सहयोग गरिएको एकिकृत ग्रामिण विकास समाज हिरा अर्यालले बताए ।

इस्मा गाउँपालिकाले यो बर्ष संस्कृति संरक्षण भनेर पाँच लाख बजेट बिनियोजन गरेको छ । जस अन्तरगत गाउँपालिकाले इस्मा गाउँपालिका ५ गावँ दलित समुदायलाई बाजा गरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । उनीहरुलाई आवश्यक पोशाकको समेत व्यावस्था गरिने बस्नेतले बताए । त्यस्तै जिल्लाका अरु स्थानीय तहमा पनि यो कामको थालनी भएको छ ।

केहि समय अगाडी वामी विश्व सम्पर्क मञ्चले नौमति बाजा संरक्षणको लागि महोत्सवको आयोजना गरेको थियो ।
फोटो : बाजा बजाउँदै इश्मा गाउँपालिका ५ रजस्थल गाँव मैदानका दमाई समुदाय ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार