logo
  • मंगलबार, चैत्र ६ २०८०

अर्थराजनीतिको विषयमा बहस जरुरी रहेकोमा जोड


  • साझा नेटवर्क
  • मंगलबार, चैत्र ६ २०८०

बुटवल, मङ्सिर २२ ।
पछिल्लो समय सबैतिर आर्थिक समृद्धिको चर्चा हुने गरेकोमा अबको अर्थतन्त्र कस्तो हुने भन्ने विषयमा बहस जरुरी रहेको एक कार्यक्रममा जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव क्षेत्री (घिमिरे) द्वारा लिखित ‘नेपालको अर्थराजनीति सम्भावना र चुनौती’ पुस्तकबारेमा शनिबार बुटवलमा आयोजित अन्तक्र्रिया तथा समीक्षा कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

सो अवसरमा बोल्दै लेखक क्षेत्रीले अहिले सबै राजनीतिक दल तथा अन्य क्षेत्रबाट पनि समृद्धिको कुरा उठाउने गरिएको तर कस्तो मोडलको अर्थतन्त्र भन्नेबारेमा चर्चा कम हुने गरेको बताए । ‘हामी अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकबाट पूजीवादी मुलुकमा प्रवेश गरेका छौं’ हाल नेकपाका केन्द्रीय सदस्य समेत रहेका क्षेत्रीले भने ‘हामी जाने बाटो भनेको समाजवाद हो, नेपाली कांग्रेसले पनि प्रजातान्त्रिक समाजवाद भनेको छ, तर अब कस्तो समाजवादतिर जाने स्पष्ट हुन जरुरी छ ।’

‘भारतमा पनि मोदी मोडेल लगायतको चर्चा छ, विभिन्न देशमा विभिन्न किसिमका विकासका मोडेलहरु छन्’ लेखक क्षेत्रीले भने ‘यस्ता विभिन्न मोडेलहरुबारे बहस जरुरी रहेकाले मैले उत्तर भन्दा पनि प्रश्न बढी उठाएको छु ।’

समीक्षक बैकुण्ठ पाण्डेले आर्थिक विषयमा जान्न इच्छुकहरुको यो पुस्तक ‘हिलिङ क्याप्सुल’ उपचारात्मक क्याप्सुल हुने बताए । देशमा देखिएका आर्थिक र राजनीतिक क्षेत्रका समस्याहरुले लेखकले पूर्वाग्रह नराखी जस्ताको तस्तै उल्लेख गरेको पाण्डेले बताए ।

‘पुस्तककमा कमजोरीहरु स्पष्ट रुपमा केलाइएको छ, समस्याबारे पूर्वाग्रहबिना निर्मम प्रहार गरिएको छ’ पाण्डेले भने । अर्थनीति राम्रो बन्न विचार स्पष्ट हुनुपर्ने भन्दै पाण्डेले विचार गलत भए अर्थनीति राम्रो नबन्ने औल्याए । लेखक क्षेत्रीले विकृत पूजीवादको कुरा पुस्तकमा उठाएको पाण्डेले चर्चा गरे ।

देशको विकासको लागि औद्योगिक क्षेत्रको विकासले गति लिनुपर्नेमा क्षेत्रीले जोड दिएको पाण्डेले उल्लेख गरे । ‘धेरैले कृषिको मात्रै कुरा गर्छन् तर लेखक क्षेत्रीले उद्योगको विकासलाई जोड दिएको पाइएको छ’ पाण्डेले भने । विकासको आधार कृषि भए पनि लेखकले शहरलाई गाउतिर तान्ने कुरा उठाउनु सकारात्मक रहेको पाण्डेले बताए ।

प्राध्यापक डा. बाबुराम ज्ञवालीले नेपालको राजनीतिक अर्थशास्त्र नै स्पष्ट नभइरहेको अवस्थामा बहसको लागि पुस्तक उपयोगी रहेको बताए । पुस्तकमा विकासका विभिन्न मोडलबारे चर्चा गरिएकाले पनि पुस्तक उपयोगी रहेको ज्ञवालीले बताए ।

अर्का समीक्षक डा. सुरेन्द्र गिरीले देशलाई समृद्धिको बाटो लैजाने अभिप्रायले नै लेखकले विकासका मोडलहरुबारे चर्चा गरेकोले पुस्तक सान्दर्भिक रहेको औल्याए । राजनीति र अर्थतन्त्रमा दख्खल राख्दै आएका क्षेत्रीको पुस्तक मुलुकलाई समृद्धिको दिशातर्फ लैजान उपयोगी हुने गिरीले बताए ।

अर्का समीक्षक लिलाबल्लभ ढकालले बाल्यकालदेखि नै राजनीतिक पृष्ठभूमिमा रहेको र हाल केन्द्रीय नेताका रुपमा रहेका लेखक क्षेत्रीले लेखेको पुस्तक अर्थशास्त्री र राजनीति शास्त्रीको लागि पठनीय रहेको बताए । लेखक क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन पत्रकार गुनाराम घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2024 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend