अपराधको रेड जोनमा गुल्मीको इश्मा गाउँपालिका
December 2, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी मंसिर १५ ।
जिल्लाका सवैभन्दा धेरै कुमाल परिवार भएको गाउँपालिका इश्मा हो । गाउँपालिकाको वडा नं ६ अम्मरपुरको बुल्म, वडा नं ५ को हुलाके, वडा नं ३ को खहेरा र वडा नं २ को पालुखा र रातचौर कुमाल समुदायको मुख्य बसोबास हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इश्मा गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले गाउँपालिकाको वडा नं ६ बुल्मको कुमाल समुदायसंग अन्तक्रिया गर्दै ।

इश्मा गाउँपालिकामा कुमालसंगै गुरुङ्ग र मगर लगायतका जनजाति र दलित समुदाय पनि उत्तिकै छन् । सवैमा बिपन्नता छ । अधिकांशका छोराछोरी सदरमुकाम र देशका साना ठुला शहरका होटलहरुमा भाँडा माझ्ने गर्छन् । यो समस्या गुरुङ्ग मगरमाभन्दा दलित र कुमाल समुदायमा बढि छ ।
यो समुदायको आम्दानीको स्रोत मजदुरी नै हो । शिक्षाको उज्यालोबाट दलित र जनजाति समुदायको पुरानो पुस्ता पछाडी छ । भने नयाँ पुस्तालाई उचित वातारण र संरक्षण छैन् । धेरै परिवारमा श्रीमान श्रीमतिनै मदिरा सेवन गर्छन् ।
जसका कारण यो समुदायमा हत्या, बलात्कार र घरेलुहिंसाका घटना भैरहेका छन् । गुल्मीका १२ स्थानीय तह मध्ये अहिले इश्मा गाउँपालिका अपराधको रेड जोन बनेको छ ।

समुदाय–प्रहरी साझेदारी मार्फत गाउँगाउँमा सचेतना

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका छन् । प्रहरीमा आउने घटनाको आधारमा अरु स्थानीय तह मध्ये इश्मा गाउँपालिकामा अपराधका घटना धेरै छन् । मदिराका कारण अपराधका घटनामा बृद्धि हुँदै गएपछि समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरी र स्थानीय सरकार टोलटोलमा पुगेर सचेत बनाउन थालेको छ ।

शुक्रबार गुल्मीका प्रहरी प्रमुख एसपी दिपक बस्नेत र इश्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टसहितको टोली बुल्मको कुमाल गाउँ पुगेर सचेतना कक्षा र इश्मा गाउँपालिका ४ को दोहलीमा अभिभावसंग अन्तरक्रिया गरेको छ ।

बुल्मका करिव डेढ सय कुमाल समुदाय र दोहलीका करिव दुई सय अभिभावको उपस्थितीमा प्रहरी प्रमुख बस्नेतले मदिरा सेवनका कारण इश्मामा घटेका हत्या, बलात्कार, आत्म हत्या लगायतका घटना र मुद्धाको बारेमा जानकारी दिएका थिए ।

उनले सवै घटनाको अन्तिम कारण मदिरा भएकाले नियन्त्रण, उत्पादन र बिक्रि वितरणमा गाउँपालिका र प्रहरीको सक्रियतामा चाहिने बताए ।

‘अहिलेको पुस्ता र समुदायलाई मदिराबाट टाढा बनाउन नसके १५ बर्षपछिको समाज अपराधीहरुको मात्रै हुनेछ,उनले भने,‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम सक्रिय बनाए, न्यूनिकरण सम्भव छ ।’

इश्मामा बलात्कार र आत्महत्या दर बढ्दै

जिल्ला प्रहरी कार्यालय गुल्मीको तीन बर्षे तथ्याङ्कको आधारमा इश्मा गाउँपालिकामा बलात्कार र आत्महत्याको दर बढ्दै गएको छ । आर्थिक बर्ष ०७३÷०७४ मा एउटा बलात्कार भएको थियो । त्यो अवस्था आर्थिक बर्ष ०७४÷०७५ मा बढेर तीन पुग्यो ।

यो आर्थिक बर्षको अहिलेसम्म चार वटा बलात्कारका घटना इश्मा गाउँपालिकाका विभिन्न स्थानमा घटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन खड्काले बताए । त्यो सवैको कारण मदिरानै भएको खड्काले बताए ।

त्यस्तै इश्मा गाउँपालिकामा तीन बर्ष भित्र २१ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ । आर्थिक बर्ष ०७३÷०७४ मा पाँच, ०७४÷०७५ मा सात र यो आर्थिक बर्षको अहिलेसम्म नौ जनाले आत्म हत्या गरेका छन् ।

अनुसन्धान गर्दै जाँदा आत्महत्याको पनि ९५ प्रतिशत कारण मदिरा सेवननै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक बस्नेतले बताए । बाल बिबाह, बहुबिबाह, मानव बेचबिखन, केहि सामाजिक अपराध र धेरै घरेलुहिंसाका घटना इश्मा गाउँपालिकाका छन् ।

जनप्रतिनधी भन्छन् : भोटसंग अपराधको सम्झौता हुदैन

इश्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले भोटसंग समाजको अपराध सम्झौत ागर्न नसकिने बताए । उनले भोट दिएका कारण कार्यकर्ताले जे गरेपनि स्थानीय सरकार आँखा पट्टी बाँधेर बस्न नसक्ने बताए ।

‘दैनिक घटने घटनाले इश्माको नागरिक भन्न लाज मान्नु पर्ने अवस्था आइसक्यो, उनले भने,‘भोट दिएको नाममा पछि पर्दैनौ ।’ त्यस्तै गाउँपालिका उपप्रमुख बिमला खत्रीले पनि केहि रचनात्मक र सृजनात्मक काम गर्न खोजे कार्यकर्ता र केहि नेताहरुले नै भोटलाई जोडेर मनोवल गिराउने काम गरेको बताइन् ।

‘भर्खरै बजार अनुगमन ग¥यौ, धेरैको स्यावासी पाएपनि केहिले चोकचोकमा भोटको धम्की दिन्छन उनले भनिन, सभ्य समाज निर्माण गर्दा पछि परे फरक पदैन् । इश्मा गाउँपालिकाका वडा नं ५ का कार्यबहाक अध्यक्ष नारायण पैयानीले आफुहरुले पटक पटक कार्यकर्ताबाट भोटको धम्की आउने गरेको बताए ।

उनले समाज सुधार र विकासका काममा आफुहरुले केहि जोखिम उठाउन खोजे कार्यकर्ताले भोट दिएको वा भोली उठ्ने कुरालाई भोटको संंज्ञा दिएर चेतावनी दिने गरेको बताए ।

अभिभावक भन्छन् : मदिरा नियन्त्रण हैन, निषेध गरौ

इश्मा गाउँपालिकामा मदिराका कारण अपराधका घटना बढ्दै जान थालेपछि अभिभावहरु समेत चिन्तित छन् । नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्र बहादुर महतले मदिरालाई निषेध गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले मदिरा नियन्त्रण गर्दै निषेध नै गर्न असम्भव भए एकल व्यावसाय बनाउन आग्रह गरे । ‘समाजमै घटना घटदा समाजले नै लुकाउने भएकाले समुदाय–प्रहरी साझेदारी आवश्यक रहेकाले सवै जुटे अपराध न्यूनिकरण गर्न सकिने बताए ।

इश्मा गाउँपालिका ४ की बाल कुमारी अधिकारीले अहिले घरेलु मदिरासंगै ७० युपिको रक्सीका कारण समस्या भैरहेको बताइन् । इश्मा गाउँपालिका ५ का छविलाल अधिकारीले अहिले रक्सी नदिए काम गर्ने खेतला पाउन समेत मुस्किल पर्ने अवस्था रहेको बताए ।

‘मदिरा नियन्त्रण गर्ने अभियान धेरै आए कार्यन्वयनमा समस्या रह्यो नियन्त्रण हैन निषेध गरौ,‘उनले भने,‘म दिलो ज्यान दिएर लाग्न आतुर छु ।

त्यस्तै इश्मा गाउँपालिकाका स्रोत व्यक्ति लाल बहादुर कुवंरले बालबालिकालाई पैसाको लोभ देखाएर लागु पदार्थ ओसार पसारको माध्यम बनाउने र सार्वजनिक क्षेत्रको नजिक रहेका मदिरा पसल र बिक्री वितरणको बिषयमा गाउँपालिका र सरोकारवाला सचेत बन्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले पछिल्लो समय बालबालिका बनभोज जाने र लठ्ठिएर फर्किने प्रवृति तर्फ सवै अभिभावक सचेत रहनुपर्नेमा जोड दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले भर्खरै मदिरा नियन्त्रणका बिषयमा गाउँ कार्यपलिकाले केहि महत्वपूर्ण निणर्य गरेको बताउँदै कार्यविधी मार्फत नियमन गरिने बताए ।


भिडियो हेर्नुहोस ।


हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार