काबुलमा आत्मघाती आक्रमणमा परी ५० मारिए ८३ जना घाइते
November 22, 2018 मा प्रकाशित

साझा नेट्वोर्क, काठमाडौ ।
अफगानिस्तानको राजधानी काबुलमा गत मंगलवार राति भएको आत्मघाती आक्रमणका परी ५० जनाको मृत्यु भएको छ।आक्रमणकारीले एक ठाउँमा भेला भएका इस्लाम विद्वान्हरूमाथि आक्रमण गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहलेबताए आक्रमणमा परी ८३ जना घाइते मध्ये २० जनाको अवस्था गम्भीर रहेको बताएका छन ।आक्रमण कसले गर्‍यो भने बारे कुनै समुहले  जिम्मा लिएको छैन ।

काबुल प्रकरीका प्रवक्ता बशीर मुजाहिदले भने, ‘आक्रमणबाट पीडित व्यक्तिहरू सबै धार्मिक विद्वान् थिए। पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका उनीहरूमाथि आक्रमण भएको हो।’ अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले उक्त आक्रमणको भत्र्सना गरेका छन्। उक्त आक्रमण इस्लामी मूल्य र पैगम्बरका अनुयायीमाथिको आक्रमण भएको उनले बताए।

विस्फोट गराइएका बेला त्यहाँ करिब एक हजार मानिस भेला भएका थिए। अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स (आईएस) लडाकु समूहले नियमितजसो बम हमला गर्दै आएका छन्। यसअघि गत नोभेम्बर १२ का दिन प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको थियो। अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतंककारी आक्रमणमा कुनै कमी आएको छैन।

केही दिनअगाडि मात्र अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा वार्ता गरेका थिए। कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी खलिलजादले काबुलमा वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको खुलासा गरेका थिए। अहिले मेलमिलाप र शान्तिको अवसर आएको पनि उनले दाबी गरेका थिए। अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ। यद्यपि अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ।

आक्रमणको निन्दा

काबुलमा आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्ले निन्दा एवं भत्र्सना गरेको छ। आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति सुरक्षा परिषद्ले सहानुभूति व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ। अमेरिकाले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना व्यक्त गरेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा गर्दै पीडितप्रति समवेदना व्यक्त गरेका छन्। रासस

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार