घुच्चे दाइको कारुणिक जीवन कथा
November 21, 2018 मा प्रकाशित

-सज्जन ढकाल ।
प्रकृति पनि कस्तो विचित्रको छ । भगवान पनि उनका लागि पापी नै होलान सायद । जिन्दगीमा बोल्न नसक्नु, सहजताका साथ हिड्न नसक्नु, हिड्यो त लठ्ठीको सहायता लिनुपर्ने बाध्यता जन्म कहाँ भयो, नाम केहो, उमेर कति पुग्यो, थाहा छैन ।केवल उनी बोल्छन उनकै स्वरमा हामी श्रवण गर्न सक्छौं बुझ्न सक्दैनौ । उनको इसारा र संकेत मात्र हामी थाहा पाउन सक्छौ । जस्को दैनिकी अन्य मनुष्यको भन्दा केहि भिन्न किसिमको छ ।

संघर्षका खुट्किलाहरु उनका लागि अपरम्पार छन । सायद यी सबै वेदना र पिडा आमाको कोखबाट जन्म लिदा नै लिएर आएका रहेछन । यस्ता व्यक्ती उनी हुन हाम्रै समाजले राखी दिएको नाम (घुच्छे लाटो) । उनको फरक अस्तित्व हाम्रो समाजमा रहेको छ ।

विशेष गरी कालिगण्डकी गाउँपालिका गाउँ घरका टोल टोल र घर घरमा यिनको आगमन हुने गर्दछ । डरलाग्दो फरक हिडाइ र स्वरुपका कारण साना, साना केटा, केटि, बच्चा, बच्ची, बालबालिकाहरु घरमा चक चक गरेको खण्डमा घुच्चेले लैजान्छ भनेर अभिभावकले डर देखाउने समेत गरिन्छ । उनको नाम पटक पटक स्मरण भैरहन्छ ।

गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ छापचौर स्थित सेर बहादुर नेपालीको घरमा लामो समयदेखि बस्दै आएका छन । उनी आफ्नो घरमा बिहान बेलुका मिठो नमिठो जे खानेकुरा पाक्छ त्यो खान दिनु सेर बहादुर र उनको परिवारको कर्तव्य र सेवा भएको छ ।

सेर बदादुर र उनकी श्रीमती समय समयमा लुगा फाटो फेरि दिने, नुवाइदिने सफा गरिदिने गर्थे तर सेर बहादुर र उनकी जीवन सङ्गिनि यस संसारबाट सदाका लागि बिदा भएका छन । त्यो मानविय पिडा र वेदना उनको दैनिकी र व्यवहारबाट थाहा पाउन सकिन्छ ।

मलाई नुहाइदिने सफा गरिदिने घरको मालिक खै भनी प्रश्न गर्ने गर्छन् र हसिलो मुहारमा पिडाको आवाज, संगै आखामा आसुको वहाव दृश्यगत गराउने गर्दछन । हाम्रो समाजमा विभिन्न स्वभावका मानिसहरु रहने गर्दछन । कोहि दयालु हुन्छन त कोहि निष्ठुरी र पत्थर जस्तो हृदय भएका ।

मनमा माया र दयाको भाव पलाउनेहरु गाउँ डुल्ने क्रममा घरमा उपस्थित भएको खण्डमा आफ्नो परिवारको सदस्य जस्तो मानेर घरमा जे जस्तो पकाएको खाना छ । त्यो खुल्ला हृदयका साथ दिदै लुगाफाटो फेरि दिदै नुहाइ दिने पनि गर्दछन । कतिपय फोहरी लाटो फेरि पनि आयो भन्दै राक्षसि व्यवहारका साथ घरबाट धपाउने गर्दछन ।

त्यो पाप र पुण्ड कार्य घुच्छे दाइको आत्मलाई थाह होला त्यो आवाज बुलन्दित गर्न सक्दैनन । केवल नबुझिने स्वर मात्र निकाल्दै साङ्केतिक इसारामा प्रस्तुत गर्ने गर्दछन ।कतिपय मानिसहरु उनको दुख पीडा देखेर केही नगद दस बीस रुपियाँ पैसा पनि दिने गर्दछन ।

त्यो पैसा उनी जम्मा गरि लगाएको कपडाको खल्तिमा केही हजार बनाएर राख्ने गर्दछ्न । तर बिडम्बना त्यो पैसापनी समाजका धमिराहरु जो पत्थर हृदयका हुन्छन तिनिहरु चोरी दिन्छन । विचित्र छ संसार यस्तै संसारको एक सारथी बन्दै जनतन आफ्नो अस्तित्व संगै दुख र निकै कष्टपुर्ण जीवन व्यतित गर्न बाध्य र विवस छन ।

सायद यो भगवानको लिला र कृपा नै होला । अपाङ्ग भएर जन्मेकै कारण होला परिवारका अन्य सदस्यले नखोज्नु, कर्तव्य र उत्तर दायित्व भुल्नु । परिवारमा सबै अपाङ्ग त पक्कै पनि छैनन होला । बाबा, आमा, दाजु, भाइ, दिदी बहिनि नहुनु, परिवारका सबै सदस्यको यस्तै कारुणिक अवस्था भएत ठिकै हो ।

तैपनी जन्म दिने आमा बाबू अन्य भएपनि पालन पोषण गर्ने आकास जस्तो चौडा हृदय र समुन्द्र भन्दा गहिरो माया र प्रेम भएका सेर बहादुर र करुणा जस्तो अभिभावक पाउनु घुच्छे दाइको भाग्यको कुरा र समयले जुराएको उत्तम नियती हो ।

अहिले सेर बहादुरका नाति करुणा परियारको परिवार हजुर बुवाको जस्तै सेवामा तल्लिन छ । यहि सेवा र सद्भाव उनी बाचुन्जेल सम्म गर्ने उनको परोपकारी प्रणय र अठोठ रहेको उनी बताउछ्न । परिवारले उनको प्रश्नको उत्तर साङ्केतिक सैलिमा दिनु पर्दाको क्षण मुटुमा विगतको (हजुरबुवा र हजुर आमा) बाजे बज्यैको स्मरणले भक्कानो फुटाए पनि उनको परिवारले सेवा गरिरहेको छ ।

सायद यस्तो सेवा निरन्तर पाई राख्नु घरको सदस्य सरह समान ब्यवहार गर्नु घुच्चेको लागि खुसिको कुरा र समाजको एक उदाहरणिय सामाजिक कार्यको ज्वलन्त उदाहरण हो । लामो समयसम्म यहि नै बसिरहेका छन । हाम्रै समाजमा घुमफिर गर्न थालेको पनि लगभग ७ दशक जति भएछ ।

यिनको उमेर लगभग ८० बर्षको हराहारिमा पुगेको हामी अनुमान गर्न सकिन्छ । पहिला जस्तो गाउँ घरमा हिनडुल गर्न छोडेका छन । आजसम्म सरकारि कुनैपनी सेवा सुबिधा पाउन सकिरहेका छैनन । अपाङ्ग सम्बन्धि कार्य गर्ने अपाङ्गको लागि अधिकार दिलाउने विभिन्न सरकारि तथा गैरसरकारी निकायको उत्तरदायित्व, सेवा र अधिकारबाट लाभान्वित हुन सकेका छैनन ।

उनका लागि त्यो आधारको स्रोत बन्न सकेको देखिदैन । केवल उनको लागि सर्वेसर्वा र जिवनको एक जिबित पाटो नै सेर बहादुर देखि नाति करुणा परियारको सहज पालन पोषण नै हो ।

लठ्ठी समात्नु झोला बोक्नु असहज साथ हिढ्दै हाम्रै समाजका घर घरमा पुग्नु केही खानेकुरा माग्नु खानु, माया ममता र स्नेह स्वरुप दिएका लत्ता कपडा लागाउनु हिड्ने क्रममा जहाँ रात पर्छ उहीँ बस्नु ।

दयालु मनहरुले दिएको आटो, पिठो, केही खानेकुरा घरमा लिएर दिनु उनको दैनिकी थियो । तर वर्तमान अवस्थामा लामो यात्रामा हिडन सक्दैनन र घरमा बसी रहन्छ्न । खाली समयमा बस्दा सहज साथ रसि बाटी रहेका हुन्छन सायद भगवानले यहिनै सीपदिएको रहेछन।

आजभोली उमेरले पनि नेटो काटेर होला बुढेस कालले छोए जस्तो छ । प्राय गाउँघर तिर डुल्न छोडेका छन । छापचौर बजारमा वरिपरि गर्नु विभिन्न व्यक्तिहरुसंग जिस्किनु, बिहान बेलुका करुणाको घरमा जे पाक्छ त्यही खानु, वरपर घुमफिर गर्नु उनको दैनिकी भएको छ ।

अलिकती हिड्यो त स्या स्या भएको र खोकी रहेको देखिन्छ । सायद उमेर ढल्किदै जादा रोगले छोप्दै छ होला । सेर बहादुर संगै उनका नाति करुणा र उनको परिवारको सेवा हाम्रो नजरमा अटल रहेको देखिन्छ ।

यस पृथ्वीमा फरक फरक स्वरुपमा जन्म लिनु नै मनुष्यको अपरम्पार निरन्तरता र संघर्षको कडी होला । तर यसरी सेवा सद्भाव लामो समयसम्म खुल्ला र उदार हृदयका साथ गरिरहनु पनि समाज सेवाको अदृश्यगत पाटो हुन सक्छ । पक्कै पनि यो परोपकारी भावनाको एक उदाहरणिय स्वरुप हो ।

त्यसैले यो कार्य ऐतिहासिक र सेवाको दृष्टिबाट कोसेढुङ्गा सावित हुनेछ । जुन तस्बिर क्यामेरामा कैद गर्दा मेरो मनमा खुसी र उमङको महसुस गरेको थिए । तर आज यो कारुणिक जिवनी शब्दमा प्रस्तुत गर्दै गर्दा मानविय नाताको संवेदनाले मेरा आखाबाट आँसु खस्दै मुटु भक्कानि रहेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार