बुर्का भित्र लुकेका आशा लाग्दा अनुहार
November 17, 2018 मा प्रकाशित

–हीरा कुवँर ।
होचो कद, पातलो शरीर, शिरदेखि पाउसम्म ढाकेको कालो कपडाभित्रबाट मसिना हातले गाडीवालालाई दिएको २० रुपियाँ भाडा । सायद नियमित गाडीमा चढिरहने यात्रुले ड्राइभरलाई पटक पटक भाडा सोधिरहंदैनन् र यसरी नै नसोधी भाडा दिन्छन् र ओर्लिन्छन् । यस्ता यात्रुसंग गाडीवाला पनि धेरै बार्गेनिंग गर्दैनन् , भाडा बुझ्छन् र गन्तब्यमा लाग्छन् । दशैं तिहार बीचको फुर्सदको समयमा दाङको भालुवाङमा आफन्तलाई भेटेर बुटवल फर्कदै गर्दा चन्द्रौटाको आसपासमा मुस्लिम समुदायकी एक महिलासंगको छोटो यात्राको अनुभव हो यो ।

उनीसंगको यात्रा छोटो भएपनि मनमा भने निकै लामो यात्रा चल्यो विमर्शको, केवल आफैसंग नकि बुर्कावाली दिदीसंग । मुस्लिम समुदायका महिला र हिजाब वा बुर्काबीचको सम्बन्धलाई लिएर धेरै टिप्पणीहरु हुने गर्दछन् ।

कसैले यसलाई आफुनो समुदाय, धर्म र परम्पराअनुसार सामान्य रुपमा लिनुपर्ने भन्छन् त कसैले महिलामाथिको दमन र विभेदको रुपमा लिने गर्दछन् । सबैजसो धर्ममा कतिपय हाम्रो परम्पराअनुसारका आ–आफ्नै मुल्यमान्यता, प्रथाहरु छन् ।

जसलाई हामी चाहेर वा नचाहेर पालना गर्दै आइरहेका छौं । त्यसैले यस्ता विषयमा फरक फरक मत हुनु स्वभाविक पनि हो । नेपालको संविधानको धारा २६ मा मौलिक हकको रुपमा धर्मसम्बन्धी हकलाई व्यवस्था गरिएको छ ।

जसमा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रताको हकको व्यवस्था छ । तसर्थ सबै धर्मप्रतिको सम्मान हामीले गर्नुपर्दछ ।

तर हरेक धर्म समुदायमा भएका राम्रा अभ्यासको पालना गर्नु र विभेदकारी प्रथा हटाउनका लागि पैरवी गर्नु सचेत नागरिकको दायित्व हो । लेखकको मान्यता पनि त्यही हो, कुनै धर्म र समुदायप्रतिको उपेक्षा होइन यो, अन्यथा अर्थ नलागोस् ।

औसतमा नेपालमा सबै महिलाहरुको अवस्था पुरुषको तुलनामा कमजोर छ । सहभागिता, पहुँच सबै हिसाबले हैसियतमा समानता हुन सकिरहेको छैन तर आशालाग्दा प्रगतिहरु भइरहेका छन् ।

अन्य समुदायका महिलाको जुन अनुपातमा अवस्था र हैसियतमा सकारात्मक परिवर्तन भइरहेको छ । त्यसको तुलनामा मुस्लिम समुदायका महिलाको अवस्था भने कमजोर देखिन्छ । यहाँ मुस्लिम समुदायमा पनि प्रथा र परम्पराको रुपमा भएका केही विषयहरुलाई उठान गरिएको छ ।

बुर्का वा हिजाब (मुख छोप्ने विशेष प्रकारको कपडा)

मुस्लिम समुदायका महिलाहरुलाई बुर्का लगाउनु अनिवार्य हुन्छ । मुस्लिम समुदायका महिलाले शिरदेखि पाउसम्म छोपिने गरी कालो कपडा लगाउने गर्दछन् । आफ्नो दैनिक काममै असहज हुने गरी लगाइने यो बुर्का महिला स्वतन्त्रताको बाधक हो भनेर अधिकारकर्मीहरु टिप्पणी गर्दछन् ।

महिला आम मानव जस्तै भएर बाँच्न पाउनुपर्दछ, चाहे हामी मुस्लिम हौं वा अन्य समुदाय । बुर्काले महिलालाई बन्धनमा राख्दछ, सिमित दायरामा राख्दछ । खुल्ला रुपमा बाहिर निस्कनुहुँदैन भन्ने मान्यताका कारण उक्त समुदायका अधिकांश महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक,शैक्षिक हरेक हिसाबले उनीहरु पछाडि छन् ।

केही हिम्मत र साहस भएका महिलाहरु बुर्का तोडेर समाज सेवामा लागेका छन्, राजनीतिमा, मोडलिंङमा, महिला अधिकारकर्मीको रुपमा चिनिएका छन् । यो सकारात्मक पक्ष हो । हामीले नगण्य रुपमा बाहिर देखिएका महिलाहरुको साहसलाई सम्मान गर्नुपर्दछ । तर मोहना अन्सारीको अवस्थालाई हेरेर आम मुस्लिम समुदायका महिलाको अवस्थालाई आंकलन गर्नु गलत हुन्छ ।

तलाक

मुस्लिम समुदायमा यदि श्रीमान्लाई कुनै कुरामा चित्त बुझेन भने ३ पटकसम्म तलाक तलाक तलाक भनेपछि सम्बन्ध विच्छेद हुने गर्दछ । जहाँ महिलाहरु निरीह छुट्टिनु बाहेक अर्को कानुनी विकल्प रोजेको देखिंदैन ।

जीवनभर संगै बाँच्ने र दुख सुख साट्ने भनेर जोडिएको सम्बन्ध क्षणिक आवेशमा छिनभरमै तोडिनु जायज कुरा होइन । विचार नमिले संगै बस्नुपर्ने बाध्यता पनि होइन । तर यो कानुनसम्मत हुनुपर्दछ । तलाक कुनै कानुनी प्रक्रिया होइन ।

मदरसा

मुस्लिम समुदायका अधिकांश महिलाहरु मदरसामा गएर पढ्ने गर्दछन् । यो केही समयको लागि उपयुक्त माध्यम हो । छोरीलाई पनि पढाउनु पर्दछ भन्ने मानसिकताको विकास गर्नका लागि यो जाहेज हो ।

तर अहिलेका प्रतिष्पर्धात्मक युगमा अन्य ब्यक्तिसरह यो समुदायका महिलाहरुलाई पनि औपचारिक शिक्षामा ल्याउन जरुरी छ । शिक्षा नै सामाजिक, आर्थिक, राजनीतिक विकासको मेरुदण्ड हो ।

मुस्लिम समुदायमा पनि शिक्षाको विकास गर्न सकियो भने सचेतीकरणदेखि लिएर अन्य विकास र समानताको आधार तयार हुनसक्दछ । छोरीलाई पढाउनुहुँदैन भन्ने व्यक्तिको मानसिकतामा परीवर्तन हुनसक्दछ ।

बालविवाह

कानुनले बालविवाहलाई मान्यता नदिएता अन्य कतिपय समुदायमा बालविवाह प्रचलनमा छ । यसरी नै मुस्लिम समुदायमा सानै उमेरमा विवाह गरिदिने चलनले महिलाहरु हरेक किसिमका जोखिम मोल्न बाध्य छन् ।

सानै उमेरमा विवाह भएपछि सानै उमेरमा बच्चा जन्मिने गर्दछ , जसले गर्दा उनीहरुको प्रजनन स्वास्थ्य कमजोर हुन्छ , जीवन नै जाखिममा रहेको हुन्छ । साथै बालबिबाहले तलाक वा सम्बन्धविच्छेदलाई समेत बढाएको देखिन्छ ।

समयसंगै दम्पत्तीमा असमझदारी बढ्दै जाँदा बेमेल हुन्छ र सम्बन्ध टिक्नसक्दैन । अन्ततः सम्बन्धविच्छेदको प्रक्रिया तलाक मै टुंगिन्छ तर कानुनी प्रक्रियामा जाँदैनन् ।

धेरै सन्तान जन्माउनु

मुस्लिम समुदायमा परिवार नियोजनका साधनहरु प्रयोेग गर्नुह्ँदैन भन्ने अन्धविश्वासका कारण धेरै सन्तान जन्माउने गर्दछन् । गरीबी, बालविवाह ,अशिक्षामा पिल्सिएका यस समुदायका महिलाहरुको जीवन धेरै सन्तान हुँदा झन् कष्टकर बनिरहेको देखिन्छ ।

यस समुदायमा उक्त विषयमा जनचेतना अभिवृद्धिका लागि स्थानीय सरकार, सामाजिक संघसंस्था सबैले थप लगानी गर्नुपर्ने देखिन्छ । नेपालमा समग्र महिलाहरुको हैसियत र अवस्थामा सुधार भइरहेको छ।

सोही अनुपातमा मुस्लिम समुदायका महिलाहरुको अवस्थामा पनि सुधार गर्नका लागि राज्यको ध्यान पुग्न जरुरी छ । यहाँनेर प्रश्न हुनसक्छ कि बुर्का महिलाहरुको विकासको बाधक हो या होइन किनकि मानिसमा क्षमता भयो भने पोशाकले त्यति फरक नपार्ला ।

तर भन्न खोजिएको विषय बुर्कासंग गाँसिएका उक्त समुदायका अन्धविश्वास, पछौटेपनको हो । महिलाहरु बुर्का लगाएरै घरभित्र बस्नुपर्छ र खुलेर बाहिर हिड्न हुँदैन भन्ने विश्वास अहिले पनि कायम देखिन्छ ।

केही महिलाहरुले राम्रै प्रगति गरिरहेका छन् । तर औसतमा उनीहरुको अवस्था नाजुक छ । मुस्लिम समुदायको बाहुल्यता रहेको तराईका जिल्लामा अझ बढी यस्तो अवस्था देख्न सकिन्छ । पछिल्लो समय बुर्का त्यागेर समाजसेवामा, राजनीतिमा, व्यवसाय र सामाजिक जीवनमा देखिएका केही उदाहरणीय महिलाहरु छन् , जुन प्रशंसनीय कुरा हो , उपलब्धि पनि ।

यसमा सरकार, सामाजिक संघसंस्थाको पनि राम्रो भूमिका देखिन्छ । यस समुदायमा पनि शहरमा बस्ने र केही सम्पन्न वर्गका मानिसहरुमा यस्ता विषयहरु कम अभ्यासमा छन् तर जहाँ गरीबी छ, अशिक्षा छ, जनचेतनाको अभाव छ, उक्त ठाउँमा समस्या उस्तै छ ।

आगामी दिनमा उक्त समुदायमा महिलाहरुको शैक्षिक, आर्थिक जीवनस्तर उठाउन र जनचेतना अभिवृद्धिका लागि राज्य र सरोकारवालाको प्रभावकारी पहल होस् ।

ताकि हिजाब वा बुर्र्काभित्रबाट धेरै माथि उठेका थुप्रै मोहना अन्सारीहरु देख्न पाइयोस् । बुर्काभित्रका आशालाग्दा अनुहारहरु खुलेर हिंडेको र देशको विकासका हिस्सा बनेको देख्न पाइयोस् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार