नेपाली कांग्रेसका युवा नेता तिवारीको निधन
November 12, 2018 मा प्रकाशित

काठमाडाैं, कार्तिक २५ ।
नेपाली कांग्रेस लमजुङका होनहार नेता प्रकाशबाबु तिवारीको निधन भएको छ । साविकको चिती–३ र हालको बेसिशहर–११ मा बस्दै आएका नेता तिवारीको ह्दयघातका कारण निधन भएको परिवारले जनाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका तिवारीको उपचारका क्रममा लमजुङ सामुदायिक अस्पतालमा निधन भएको हो । कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोइरालाका अनुसार आइतबार बिहान साढे ६ बजे तिवारीको निधन भएको थियो ।

शनिबार राति स्वास्थ्यमा केही समस्या आएपछि तिवारीलाई परिवारले उपचारका लागि अस्पताल पुराएका थिए । तिवारीले यस अघि पनि २ पटकसम्म ह्दयघातको उपचार गरिसकेका थिए ।

पार्टीको पूर्व गाविस सभापति समेत रहेका तिवारी पार्टीमा फरक बिचार राख्ने व्यक्तित्व थिए । पार्टीको काममा बढी समय दिने तिवारी पछिल्लो समय व्यावसायिक गाईपालनसँगै सक्रिय रूपमा राजनीतिमा थिए ।

तिवारीको २ छोरा र श्रीमती छन् । तिवारीको निधन प्रति नेपाली कांग्रेस लमजुङले गहिरो दुःख व्यक्त गर्दै सक्रिय अनि युवा नेता गुमाउनु पर्दा पार्टीलाई ठूलो क्षति भएको जनाएको छ ।

तिवारीले १० वर्षे माओवादी जनयुद्ध कालिन समयमा समेत पार्टीलाई जोगाउन सहयोग गरेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार