गुल्मीको रेसुङ्गा गौशालामा करिब दुई सय गाईको सामुहिक पुजा
November 7, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी कार्तिक २१ ।
गुल्मीको पबित्र तपोभुमी रेसुङाको गौशालामा सामुहिक गाई पुजा गरिएको छ । तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजाको अवसरमा रेसुङ्गा संरक्षण समितिले गौशालमा विशेष पुजा गर्ने गर्दछ । सोही दिन गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठोलगायतका खानेकुरा खुवाइने गर्दछ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको रेसुङा बहुमुखी क्याम्पसका उपप्रध्यापक तथा पन्डित लक्षमन रिजालले बताबताए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबर्धन पर्वत मानी पूजा गर्ने गरगोबर्धन द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोबर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबर्ध्न पर्वतको पूजा गर्ने प्रचलन रहेको पन्डित रिजालले बताए ।वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । रेसुङ्गासँगै रहेको गौशालामा २०४२ सालदेखि गाईहरु पालिदै आएको छ । पुजा गर्न तथा गाइहरुलाइ नुन खुवाउन गुल्मीसहित छिमेकी जिल्लाका धर्मावलम्बी गौशाला पुग्ने गर्दछ्न ।

रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्षा पूरा हुने धार्मिक जनबिश्वासका कारण गाईदान गरेर छोडने प्रचलन पनि रहेको रेसुङा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालले बताए । पछिल्लो समय गाउँमा गाईहरु नपाल्ने तर बर्षदिनमा एकपटक पुजा गर्न गौशाला पुग्नेहरु बढ्न थालेको स्थानीय घनश्याम पान्डेयले बताए ।

अहिले रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।
गौशालामा हाल झण्डै २ सय गाईगोरुहरु रहेका छन् । स्थानीय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो ।

रेसुङ्गासँगै गौशालाको पर्यटकीय महत्व वढाउन प्रचार प्रसारमा सबैको ध्यान जान जरुरी रहेको रेसुङ्गा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबिन्द गौतमले बताए ।