घरमै बसेर लाखौ आम्दानी
May 13, 2018 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी वैशाख ३० ।
रेसुङ्गा नगरपालिका ७ कुँडापानीका ३२ बर्षिया शम्भु पाण्डे रोजगारिको लागि ११ बर्षसम्म दुबईमा बसे । त्यहाँ उनले कृषिसम्बन्धि काम गर्दथे । आम्दानी पनि राम्रै हुन्थ्यो । तर उनी एकपटक घर आए । त्यसपछि विदेश फर्कन मन लागेन । उनले गाई पाल्न थाले । पाण्डे आजकाल गाईको स्याहार गर्न र दुध बेच्नमै ब्यस्त देखिनुहुन्छ । हाल उनले ६५ लाखको लागतमा २१ गाई पालेका छन् । जसमध्ये धेरै दुहुने र केहि ब्याउने र केहि बाच्छाबाच्छि छन् । गाईपालनको लागि उनले पानी ट्यांकि, भकारो सुधार लगायतका कामहरु पनि गरेका छन् । हाल उनले गाईबाट मात्रै दैनिक ८५ देखि एक सय ५० लिटर सम्म दुध उत्पादन गर्छन् । जसबाट बार्षिक सात लाखसम्म आम्दानी हुने गरेको पाण्डेको भनाई छ । विदेशमा राम्रो कमाई गर्नेहरु स्वदेशमा लगानी गर्न हिचकिचाउछन् । तर पाण्डे भने विदेशको कमाई छोडेर गाउँमै गाईपालनमा ब्यस्त छन् । नेपालको आर्थिक क्रान्ति नै कृषिबाट सम्भव भएकोले गाईपालन पेशा अबलम्बन गरेको उनको भनाई छ । ‘नेपालको आर्थिक क्रान्ति नै कृषि र पशुपालनबाट सम्भव छ ।’ उनले भने, ‘आगामी दिनमा गाईको सङ्ख्यामा बृद्धि गर्दै जाने विचार छ ।

गाईपालन गरेबापत उनले किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमबाट १० लाख अनुदान समेत लिइसकेका छन् । सँस्थाले दिएको अनुदानले आफूलाई कार्यप्रति थप हौसला प्रदान गरेको उनको भनाई छ । त्यसका साथै उनले घरमै बसेर काम गर्दा पारिवारिक आनन्द समेत मिलेको बताए ।

पाण्डे मात्र होइन, रुरु गाँउपालिका रिडिबजारका ३७ बर्षिया रविलाल पन्थ पनि रोजगारिकै लागि १५ बर्ष दक्षिण कोरिया बसे । तर उनलाई आफ्नै गाउँको मोहले छोडेन । अन्तत विदेशमा सिकेको सिपलाई स्वदेशमै सदुपयोग गर्दै रिडिमै दुध डेरी संचालन गरे । डेरीमा अहिले दैनिक चार सय भन्दा बढी लिटर दुध संकलन हुन्छ । यसरी संकलन भएको दुधबाट दहि, घिउ, पनिर, छुर्पि लगायतका दुधजन्य वस्तु उत्पादन गर्छन ।

उत्पादित वस्तु पनि स्थानिय बजार र तम्घासमा खपत हुन्छ । यसबाट उनले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्छन । ३ बर्षदेखि संचालन गरेको दुध डेरीमा अहिले दैनिक ६ सय लिटरको माग भएपनि आपूर्ति भने कम भएको उनको भनई छ । ‘विदेशको सिपलाई सदुपयोग गरेको हुँ, बार्षिक साढे सातलाखजति आम्दानी हुन्छ ।’ उनले भने, ‘आफ्नै ठाउँमा म सन्तुष्ट छु ।’ किसानले उत्पादन गरेको दुध डेरीमा विक्रि हुने हुनाले उक्त डेरीबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १५० भन्दा बढीले रोजगारी समेत पाएका छन् ।

रिडि धार्मिक स्थल भएकोले साकाहारीजन्य वस्तुहरुको खपत बढी हुने सम्भावना देखेर दुध डेरी संचालन गरेको पन्थले बताए । उनले पनि किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमबाट १० लाख अनुदान पाए । अनुदानपछि उनले गाउँमा गाईको सङ्ख्यामा बृद्धि गरी दुध उत्पादन बढाउने योजना बनाएको बताए ।

केयुविकेले ५० प्रतिशत सम्म अनुदान दिने

किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम (केयुविके) गुल्मी सहित अर्घाखाँचि, प्युठान, रोल्पा, सल्यान र रोल्पा गरी ६ जिल्लामा लागु भएको छ । कार्यक्रमले द्रुत दरमा कृषि विकासका लागि बीउ बिजनको औपचारिक उत्पादनका लागि काम गर्ने किसानको आम्दानी कृषिमार्फत बृद्धि गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रम नेपाल सरकार, कृषि विकास मन्त्रालय र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष बीचको सम्झौतामा लागु भएको हो ।

गुल्मी जिल्लामा पनि ८६ सहकारी र केहि निजि ब्यक्तिहरुले अनुदानमार्फत यसबाट फाइदा लिएको दामोदर पाखरेलले बताए । कामको आधारमा किसानलाई कुल लगानीको ५० प्रतिशतसम्म अनुदान दिने ब्यवस्था रहेको पोखरेलले बताए । राज्यले पनि कृषिउन्मुख नीति ल्याएपनि युवाहरुको विदेश जाने मोह भने घटेको छैन । तर विदेशको सिप स्वदेशमै प्रयोग गर्नेहरुले भने मनग्य आम्दानी गरिरहेको उनको भनाई छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार