कविता “मुद्दा”
January 10, 2018 मा प्रकाशित

आमा, एकैछिन यता आउ न है
आज तिमिसँगै बसेर रुन मन छ आमा
पुष माघे जाडोले फुटेका तिम्रा हातहरु ,
पानी नभएर पट्पटि फुटेका खेतका गरा जस्तै

तिम्रा खुट्टाका कुर्कुचामा पर्ने चिराहरु
अनि चुलोको छेउमा बसि आँसु पुछ्दै
धुँवा भएको बहानामा तिमी रोएको देखि
आज मलाई रुन मन लागेको होईन आमा

तिम्रा दु:खहरुमा त म
सिरकले मुख छोपी छोपी
कयौं पल्ट चिच्याई चिच्याई रोएकी छु ।
आज देश सम्झेर बेस्सरी रुन मन छ ।

आकाशमा चन्द्रमा देखाउँदै
आमा ती जून बाजे हुन ?
भन्दै प्रश्न गर्ने तिम्री छोरी
साँझपख
आकाशमा लर्बरिएका बादलका हुल देखाई
आमा त्यो बिरालाले जोतेको हो ?
भन्दै प्रश्न गर्ने तिम्री छोरी
आज ती सबै प्रश्नको जवाफ
आफै बुझ्ने भैसकेकी छे आमा

काग कराउँदा , किन कराएको ?
बादल लर्बराउँदा आकास जोतेको हो ?
भनेर प्रश्न गर्ने तिम्री छोरीलाई
अचेल हरपल

पत्रीकामा आउने समाचारहरुले घच्घच्याउँछ्न्
एक्कासि गड्याङ्ग गुडुङ्ग झरिदिने
सुख्खा पहिरो जस्तै प्रश्नहरुको पहिरोहरु आईदिन्छ्न्।

आमा आउ एकैछिन
आज म देशको कुरा गर्छु तिमिसँग
महाभारत , गिता अनि रामायणका
पानाहरु पढ्न सिकाएको मेरो धर्मले
साँचो बोल्न पनि सिकाएको छ होइन र आमा ?

थाहा छैन तिमिसँग यथार्थ बताउँदै गर्दा
वास्तविकता माथी प्रश्न गर्दै गर्दा
मलाई पनि
डा. गोबिन्द केसिलाई जस्तै
मानहानी मुद्दा लाग्छ कि लाग्दैन कुन्नी?
जून देशमा एउटा डाक्टर
भ्रष्ट रहित सुन्दर देश बनाउने अभियानमा छ
न चोरेर किड्नी बेचे ,

त न देश बेच्न ढाका टोपी र दौरा लगाएर हिँडे
बरु माफिया हाबी हुनु हुँदैन भन्दै
एक्लै भोको पेट अस्पतालको शैयामा
जीवन मरणाको दोसाँधमा छटपटाए
जो भ्रष्टाचारको विरुद्धमा बारम्बार
चाउरीएको छालामा स्लाईन घोची घोची
बाँचीरहेको छ

पटक पटक अनशन बसिरहेको छ
त्यही डाक्टरलाई अपहरण शैलीमा
प्रहरी हिरासतमा पुर्याईन्छ भने
के अपेक्षा गरुँ आमा मैले यो देशबाट?

#I am with Dr. Kc
कुसुम नेपाली
गुल्मी

 


प्रकाशित मिति : २६ पुष २०७४

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार